काठमाडौं– नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधि सभाको बैठकमा जरुरी सार्वजनिक विषयको छलफलका क्रममा बोल्दै सांसद अधिकारीले यस्तो बताएका हुन्।
उनले सत्ता गठबन्धनको सरकारले १६३ जना महिलाको सिट संख्या घटाएको आरोप लगाए। सांसद अधिकारीले सत्ता गठबन्धनले जानी–जानी महिलाको सिट संख्या घटाएको विषयमा महिला सांसदहरु मात्र नभएर आफू पनि गम्भीर भएको बताएका छन्।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी संसद्को सदस्य हुँदा ३३ प्रतिशत अनिवार्य रुपमा प्रतिनिधित्वको पहल गरेको स्मरण गरे। उनले व्यंग्य गर्दै भने, ‘हुन त हामीले राष्ट्रपतिको हुर्मत लियौं। महिला सांसदहरुको पनि हुर्मत लियौं। उहाँ महिला भएकै कारणले पनि अपमान पनि गर्यौं। आज हामी यो कुरा बिर्सन हुँदैन कि, मौका आउँदा यस्ता काम गर्नुहुँदैन भनेर पनि सम्झनुपर्छ।’
उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक र समावेशी सिद्धान्तको आधारमा समावेशी हक हुनेछ भनेर संविधानको धारा ३८ मा प्रष्ट व्यवस्था रहेको स्मरण गराए।
सांसद अधिकारीले महिला कमजोर नभएको बताउँदै पुरुषावादी सोचले कमजोर बनाइएको दाबी गरे। उनले राष्ट्रपतिमाथि आक्रमण गरेरै महिलाहरुलाई कमजोर बनाउने काम गरिएको आरोप लगाएका छन्।
सांसद अधिकारीले प्रतिनिधि सभाको नियमावली ९ मा महिनाको दुईपटक प्रधानमन्त्री प्रत्यक्ष संसद्मा उपस्थित भएर प्रश्नोत्तर गर्नु पर्ने एक घण्टाको कार्यक्रम रहेको बताउँदै संसद्प्रति सरकार जवाफदेही नभएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।