काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेले निर्वाचनमा पैसा फ्याक्ने अनि जित्ने विकृतिका कारण महिला निर्वाचन लड्न डराउनुपर्ने अवस्था आएको बताएकी छन्।
प्रतिनिधि सभामा माओवादी सांसद अमृता थापाले राखेको महिलाको प्रतिनिधित्व सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।
‘फलाम तातेकै समयमा हिर्काउन जरुरी छ,’ उनले भनिन्, ‘अहिले निर्वाचनको कानुन बनाउने समय भएकाले अहिले नै यो कानुनमा बहस हुनुपर्छ र विभेद हटाउनुपर्छ।’
उनले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपपा राखेको टिप्पणी गरिन्। महिला सांसदहरुलाई समानुपातिकमा राख्ने अनि विभेद हुने कार्य भएको भन्दै अब कानुन नै बनाएर जानुपर्ने उनको भनाइ छ।
गठबन्धन नै गरेर गए पनि फरक लिङ्ग नै चाहिने कानुन हुनुपर्ने भन्दै उनले महिलाहरु प्रत्यक्ष निर्वाचनमा भाग लिने वातावर०ा बनाउनका लागि सम्बन्धित कोटा छुट्टाउनुपर्ने माग गरिन्।
उनले हरेक पाँच वर्षमा यो रोटेशन हुनसक्ने भन्दै यसमा सुनिश्चित हुनुपर्ने बताइन्। उनले महिला र दलितलाई कोटा व्यवस्था नगर्ने हो भने पछाडी परेको वर्गलाई अगाडि ल्याउन नसकिने उनले दाबी गरिन्।
निश्चित प्रत्यक्षतर्फ आरक्षण गर्दा महिलाको स्थान महिला नै आउने उनको भनाइ छ। उनले अहिले निर्वाचनको विकृतिको कारण पनि महिलाहरु लड्न नसकेको दाबी गरिन्।
उनले पैसा फ्याकेकै भरमा निर्वाचन लड्ने विकृतिका कारण महिलाहरु लड्न डराउनुपरेको उल्लेख गरिन्। उनले यो कुरा स्थानीय तहमा पनि देखिएको बताइन्। महिलाको कोटा निश्चित गरेर पनि कार्यान्वयन नभएकाले यसलाई कडाई साथ कार्यान्वयनमा लैजान उनको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।