काठमाडौं– २१ वर्षीय वीरेन्द्र भट्ट पढ्नकै लागि भनेर बैतडीदेखि काठमाडौँ आए। काठमाडौंको एक कलेजबाट प्लस टु सम्मको अध्ययन पुरा गरे। घरबाट आमाले पठाएको पैसाले काठमाडौंमा पढ्न र डेरा भाडा तिर्न धौ–धौ भयो। कामको खोजीमा लागे। कामसँगै स्नातक पढाइलाई पनि अगाडि बढाउँदै थिए।
पढाइभन्दा घरको ऋणले च्याप्दै थियो। त्यसैले उनी २१ वर्षकै उमेरमै विदेश जाने सुर कसे। आफन्तहरूमार्फत् वैदेशिक रोजगारीमा पठाउने मानिसहरूसँग सम्पर्क गर्न थाले।
‘विदेश जाने तरखर गरेपछि मेरो भेट कृष्णकुमार चौरसियासँग भयो। उनले आफू र अर्को एक जना साथी मिलेर म्यानपावरबाट मानिसहरूलाई वैदेशिक रोजगारमा पठाउने गरेको बताए,’ उनी भन्छन्, ‘चौरसियाले त्यतिबेला दुबईमा राम्रो काम र तलब भएको र आफूले थुप्रै मानिसलाई पठाई काममा लगाइसकेको बताएका थिए।’
चौरसियालाई नेपालमा उनका साथी विकास थापाले सहयोग गर्ने गर्थे। ‘म दुबई बस्छु। नेपालमा विकासले प्रक्रिया गरी दुबई पठाउने काम गर्छ’ भट्ट चौरसियाले भनेको कुरा सम्झन्छन्, ‘हामीले पठाएका सबै जनाले राम्रो कमाइ गरिरहेका छन्। तपाई पनि जाने भए हामी सम्पूर्ण व्यवस्था मिलाइदिन्छौ।’
चौरसियाले मासिक एक लाख २० हजार कमाई हुने सपना देखाए। त्यहाँ पुगेर बाइकमा सामान डेलिभरि गर्नुपर्छ भनियो भट्टलाई। त्यहाँ जानका लागि ४ लाख २० हजार रुपैयाँ लाग्ने भनियो। यहाँ २० हजार पनि मुस्किलले पाउने भट्टले दुबईमा पाउने तलब एक लाख नै बढी थियो। त्यसैले चौरसियामार्फत् दुबई जान तयार भए भट्ट।
तर उनीसँग पैसा थिएन। त्यसैले उनले आमालाई गाउँको सहकारीबाट ऋण निकालेर भए पनि पैसा पठाउन लगाए। आमाले पठाएको पैसा विकास थापाको खातामा जम्मा गरिदिएको भट्टले नेपाल लाइभलाई बताए।
पैसा बुझाएपछि भट्टलाई उडाउने जिम्मा विकासले लिए। सुरुमा त विकासले नेपालबाट श्रम स्वीकृति लिएर नै पठाउने बताएका थिए। तर विदेश जाने बेलामा भने भिजिट भिसा दिएर ढाँटे।
उनी भन्छन्, ‘भिजिट भिसा दिएपछि मैले यसरी त जाँदिन भनेर भनेँ। तर उनले मलाई त्यहाँ पुगेपछि वर्किङ भिसामा परिणत गराउने बाचा गराए। मैले नपत्याउने त कुरै भएन।’
उनी काठमाडौँको एयरपोर्ट हुँदै दुबई पुगे। त्यहाँको एयरपोर्टमा चौरसिया लिन आइपुगेका थिए। उनैले भट्टलाई कोठामा लगे। र, केही दिन कोठामा राखेर एउटा कम्पनीमा पनि पुर्याए। सुरुमा कोठामा राखेका भट्टलाई पछि भने कम्पनीकै क्याम्पमा राखियो।
‘मलाई क्याम्पमा त राखियो। तर काम भने लगाइएन। चौरसियाले पहिले एक महिनाभित्र काम लगाइदिन्छु यही बस्दै गर भनेको थियो। तर उसले आफूले भने अनुसारको वाचा पूरा गरेन,’ उनी भन्छन्, ‘काम गरेर घरमा आमाले लिएको ऋण तिरौला भनेको त उल्टो घरबाट नै पैसा मागेर खानु पर्यो।’
चौरसियाले त्यो एक महिनामा बाइकको लाइसेन्स निकालिदिने वाचा गरेका थिए। तर त्यो समयमा आफूलाई लाइसेन्सको क्लासमा समेत नलगेको उनको गुनासो छ।
त्यसपछि उनले पटक–पटक चौरसियालाई फोन गरेर लाइसेन्सको प्रक्रिया अघि बढाउन र भिजिट भिसालाई वर्किङ भिसामा बदल्नका लागि दबाब दिन थाले। तर चौरसियाले उनलाई फोन, म्यासेज सबैतिरबाट ब्लक गरेर सम्पर्कविहीन भए।
उनले नेपालबाट पठाउने विकास थापालाई पनि भिसा अवधि सकिन लागेको गुनासो गरे। तर थापा अब सबै काम चौरसियाले नै गर्ने भनेर पन्छिए।
चौरसियासँग जसोतसो सम्पर्क भयो। तर यसपटक उसले भन्यो, ‘तैँले मलाई पैसा दिएको छैन, जसलाई पैसा दिएको हो उसैसँग कुरा गर्नुु।’ अनि उल्टै भन्यो–‘तेरो भिसा सकिएको छ, पुलिस लगाएर जेल हालिदिन्छु।’
भिसा अवधि सकिएपछि उनलाई क्याम्पबाट निकालियो। उनी भन्छन्, ‘बस्ने ठाउँबाट नै निकालिदिएपछि त हामी कहाँ जाने? कति दिन त मलगायतका ४ जना साथीहरू बाटोमा नै सुत्यौं।’
यस्तै हन्डर खाएर उनी विदेश गएको ५ महिनामै नेपाल फर्किएका छन्। नेपालमा आएर उनले आफूलाई विदेश पठाउनेहरू विरुद्ध वैदेशिक रोजगार विभागमा मुद्दा पनि हालेका छन्। उनीहरुबाट आफूमात्रै नभई अरु पनि ठगिएको उनले बताए।
पटक–पटक समाउँदै, छोड्दै
उनलाई दुबईमा रोजगारीमा पठाउनका लागि ४ लाख ४५ हजार रुपैयाँ लिने विकास थापाले अरूलाई पनि ठगी गरेको पाइएको छ। उनीविरुद्ध विभागमा उजुरी परेपछि गत असार ३० गते प्रहरीले पक्राउ गरेको थियो। त्यतिबेला थापाले दुई जनालाई विदेश पठाउने भनेर ११ लाख उठाएर विदेश पुर्याई अलपत्र पारेका थिए। तर उनी धरौटीमा छुटे। उनलाई फेरि वैदेशिक रोजगारसम्बन्धी कसुरमा काठमाडौं वसुन्धराबाट पक्राउ गरिएको छ।
थापाले प्रहरीको फन्दामा पर्दासमेत आफूले लिएको पैसा फिर्ता नगर्ने बताएको भट्ट बताउछन्। ‘प्रहरीले थापालाई पक्राउ गर्यो। तर पहिलेका मानिसलाई पनि पैसा नदिई छुटेको रहेछ’, उनी भन्छन्, ‘अरूलाई जस्तै मेरो पैसा फिर्ता गरेन भने मैले आमालाई कसरी मुख देखाउने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।