काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदैछ। निर्वाचन आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।
आयोगले जारी गरेको सूचना अनुसार यही साउन ३१ गते कार्यालय समयसम्म दल दर्ता गराउन पाइनेछ।
दल दर्ताको निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति उल्लेख गर्नुपर्नेछ।
दलले निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।