काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा २ वा सो भन्दा बढी दलले एउटै निर्वाचन चिन्हमा लड्न पाउने जनाएको छ।
आयोगले दल दर्ताका लागि आह्वान गरेको सूचनामा यस्तो जानकारी दिएइको छ। वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेर निर्वाचनमा केही उम्मेदवार उठाएका थिए।
महानगर र उपमहानगरमा सत्ता गठबन्धनबीचमा तालमेल भएको थियो भने एमालेले पनि भरतपुर महानगरपालिका लगायत केही क्षेत्रमा तालमेल गरेको थियो। अहिले पनि सत्तारुढ पाँच दलीय गठबन्धनले मिलेर निर्वाचनमा जाने सहमति पनि गरेका छन्।
‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ’ आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अनुसुचि १३ मा एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा तोकिएको छ। उक्त ढाँचा अनुसार निवेदन दिनुपर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।