काठमाडौं– संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रतिनिधिसभाको कार्यकाल विगतकै अभ्यास अनुसार हुने बताएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि वर्तमान संसद्को कार्यकालबारे चर्चा सुरु भएसँगै संसद सचिवालयले यस्तो स्पष्ट पारेको हो।
पाण्डेले नेपालको संविधान २०७२ अनुसार २०७४ को आमनिर्वाचनका बेला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म कार्यकाल रहेको नजिर रहेकाले आगामी निर्वाचनमा पनि त्यही अनुसार हुने बताए।
नेपाल लाइभसँग कुरा गर्दै पाण्डेले भने, ‘२०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म सांसदको कार्यकाल रहेको थियो। मंसिरको निर्वाचनमा पनि त्यही अनुसार हुन्छ भन्ने हाम्रो बुझाइ हो।’
२०७४ मंसिरमा दुई चरणमा संघ र प्रदेशको निर्वाचन भएको थियो। त्यसअघि संसदको अन्तिम बैठक असोज २८ मा बसेको थियो। त्यसको अर्को दिन अर्थात् असोज २९ गते समानुपातिकको अन्तिम बन्दसूची निर्वाचन आयेगमा दलहरूले बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।