काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा मतदाता शिक्षामा मात्र वैदेशिक सहयोग लिने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद्ले संघ र प्रदेशको निर्वाचन एकै मितिमा मंसिर ४ मा गर्ने घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले उक्त कुरा बताएका हुन्।
वैदेशिक सहयोग लिँदा नेपाल सरकारको स्पष्ट प्रक्रिया अनुसार नै लिने थपलियाले बताएका छन्। त्यस्तै, निर्वाचन आयोग कार्यालयमा सवारी साधन तथा बन्दोबस्तीको लागि भने नेपाल सरकारको माध्यमबाट अनुरोध गरेको पनि बताएका छन्।
‘निर्वाचन सामग्रीहरूमा वैदेशिक सहयोग लिने नीति छैन तर मतदाता शिक्षा दिने विषयमा प्राविधिक सहयोग, व्यवस्थापकिय सहयोग, वित्तीय सहयोगलाई प्रक्रिया अनुसार सहयोग लिन सोच रहेको छ,’ प्रमुख आयुक्त थपलियाले भने,‘सवारी साधन तथा बन्दोबस्तीको लागि भने नेपाल सरकारको अर्थमन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत् दातृ निकाय तथा मित्र राष्ट्रसँग अनुरोध गरि पठाएका छौं। त्यो प्राप्त भएछ भने स्विकार गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।