काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकाले अब आयोगको एकमात्र अर्जुनदृष्टि उक्त मिति बनाएर काम गर्ने भएको बताएका छन्।
सरकारले निर्वाचनको मिति घोषणा गरेपछि पत्रकार सम्मेलन गर्दै उनले स्थानीय तहमा उठेका केही महत्वपूर्ण प्रश्नहरुमा आयोगले यो पटक काम गर्ने उनले बताए। मतदान केन्द्र, मतदाता नामावलीमा भएका त्रुटिहरु सच्याउने उनको भनाइ छ।
मृत्यु भएका व्यक्तिहरुको नाम समावेश भएको र अन्य त्रुटिहरु सच्याउने उनले बताए। अब कुनै पनि सवाल नउठ्ने गरी आयोगले तयारी गर्ने उनले दाबी गरे।
‘१०७ दिनको समय भएपछि आयोगले आगामी मंसिर ४ को दिनलाई अर्जुनदृष्टि लगाएर आवश्यक तयारी गर्ने छ,’ उनले भने, ‘आयोगले यसअघि पनि अनौपचारिक तयारी गरेको थियो, अब औपचारिक रुपमा यसैमा केन्द्रित हुने छ। समय अवधिकै रुपमा केही अप्ठ्यारो हुँदैन।’
उनले केही ठूला चाडहरु परेकाले समस्या होला कि भन्ने देखिएको छ तर आयोग त्यसबाट प्रभाव नपर्नेगरी तयारी अवस्थामा रहेको बताए। आयोगले छिट्टै प्रेस अफिस स्थापना गरेर सूचनाहरु सहज रुपमा पुग्ने व्यवस्था गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।