काठमाडौं- उपसभामुख पुष्पा भुसालले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्को आयु रहने बताएकी छिन्।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकारबाट संसद् विघटनको परिकल्पनासमेत नगरिएको उनले बताइन्।
‘संसद् विघटनको कुनै सम्भावना छैन। संविधानले अहिलेको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन भएको छ। त्यसले विघटनको परिकल्पना गरेको छैन। किनभने यो नयाँ अभ्यासमा अघि बढीरहेको छ। यो भोलिको लागि नजिर बन्ने विषयवस्तु पनि हो,' उनले भनिन्।
उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्को आयु रहने बताइन्। उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसद्बाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसद्को आयू रहने बताइन्।
उनले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै संसद्को अवधि रहने भन्दै सबै सांसद र संसद्को लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताइन्।
उनले भनिन्, ‘संविधानले उल्लेख गर्दा सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेको छ। मनोनयनको दिन समाप्त हुन्छ भनेर व्याख्या नै गरिसकेको छ। सभामुख र उपसभामुखको उत्पत्ति भनेको संसद्बाट नै भएको हो। संसद्कै मतबाट उत्पत्ति भएको हो। त्यहाँ कुनै विधेयकको व्यवस्था हुनु पनि हुँदैन। संसद्मा सबै किसिमका व्यवस्था हुनुपर्छ कि भन्ने मेरो आफ्नो व्यक्तिगत मान्यता पनि हो। मनोनयनको दिन सबै सांसदहरुको पनि अवधि सकिन्छ। सभामुख र उपसभामुखको लागि संविधानले गरेको कल्पना नै सबै सांसदका लागि हो।'
उनले यो नयाँ व्याख्या रहेको बताउँदै यस्तै नजिर बन्न सक्ने बताइन्। सबैलाई एउटै किसिमको नियम हुनुपर्छ भन्ने छलफल अघि बढेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।