काठमाडौं– नेकपा एमालेका सांसद कृष्णभक्त पोखरलले प्रतिनिधि सभाको म्याद थप हुनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको पदावधि कहिले सम्पन्न हुन्छ भन्ने नेपाल लाईभको प्रश्नमा उनले प्रतिनिधिसभा विघटन सम्बन्धी सरकारले छिट्टै कानून ल्याउने बताए।
उनले सामान्यतया उम्मेद्वारी मनोनयन गरेको दिन प्रतिनिधि सभाको म्याद सकिने बताए। सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेसँगै एमाले सांसद पोखरेलले नेपाल लाइभसँग कुरा गर्दै प्रतिनिधि सभा विघटन हुनुपर्ने संविधानविद्हरुको धारणामा फरक मत राखे।
उनले भने, ‘प्रतिनिधि सभाको विघटन हुनुपर्ने तर्क भनेको आवधिक निर्वाचन विपरीतको तर्क हो। त्यसो भए स्थानीय तहमा निर्वाचनको मिति घोषणा गरेसँगै त्यसको म्याद कहिले सकियो?’
चुनावको मिति तोक्नेबित्तिकै संसद् विघटन हुन्छ भन्ने संसारको कुन चाहिँ संविधानवादको सद्धान्तमा लेखेको छ? भन्दै उनले प्रतिप्रश्न गरेका छन्। ‘त्यो सरासर गलत हो। जुन दिन नोमिनेसन दर्ता हुन्छ। त्यो दिनसम्म सरकार रहन्छ’, उनले भने।
फागुन २१ गतेसम्म वर्तमान सरकारको पदावधि रहेको उनको भनाइ छ। ‘स्थानीय तहमा खास अवधिलाई मानिएको थियो। कि चुनाव भएको मितिलाई मान्नुपर्ने कि शपथ ग्रहणको मितिलाई मान्नुपर्ने हुन्छ। तर, यस विषयमा संविधानमै अन्योलता छ’, उनले भने।
उनले यसको समाधान भनेको उम्मेद्वारी दिएको दिनसम्मै पदाविध हुनुपर्ने दाबी गरे। संसद्को अवधि पाँचवर्षसम्म रहेको भन्दै चुनाव भएको दिन या शपथ ग्रहण गरेको दिन नै संसद्को अवधि समापन हुने जिकिर गरे। ‘यदि कुनै सांसद निर्वाचन लडेनन् भने उनीहरुको पदावधि फागुन २१ गतेसम्म नै हुनुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।