काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई तोकेको सीमाभन्दा बढी सेयर धितोकर्जा दिएमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने बताएको छ।
राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले निर्देशनमा भनेको छ, ‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह वा नवीकरण गर्नुपर्नेछ।’
राष्ट्र बैंकले तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने जानकारी दिएको छ।
यसैगरी, राष्ट्र बैंकले सीमाभन्दा माथि रहेका सेयर धितो कर्जालाई भदौ ८ गतेभित्र नै सीमामा ल्याउन निर्देशन दिएको छ। राष्ट्र बैंकले कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल १२ करोड कायम गरेको छ।
बैंकहरुले यो सीमाभन्दा बढी कर्जा लगानी गर्न पाउँदैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।