काठमाडौं– निर्देशक बिनोद विष्टको निर्देशनमा बनेको फिल्म ‘जीवन काँडा कि फूल’ भारतमा प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले भदौ १७ गतेबाट फिल्म भारतमा प्रदर्शन हुन लागेको जानकारी दिएको छ।
केही समयअघि नेपालमा प्रदर्शन भएको यो फिल्म साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता पुस्तक ‘जीवन काँडा कि फूल’माथि आधारित रहेर बनेको हो। फिल्मका निर्देशक विष्टकाअनुसार फिल्मलाई भारतका सिक्किम, दार्जिलिङ, कालिम्पोङ, मिरिकलगायतका ठाउँमा हाल प्रदर्शन गर्न लागिएको हो।
फिल्ममा साहित्यकार झमकको बाल्यकालदेखि हालसम्मको अवस्थासम्मको चित्रण गरिएको छ। समिक्षात्मक रुपमा निकै रुचाइएको यो फिल्ममा झमकको भूमिकामा अवस्था थापा र रोजिता बुद्धाचार्यले अभिनय गरेका छन्।
सँगै फिल्ममा सारिता घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधानलगायतका कलाकारको अभिनय रहेको छ। जुनु गौतम, बद्री चौहान तथा उमेश सुवेदीको निर्माण रहेको फिल्मलाई मुक्ति उपाध्याय बरालले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।