इलाम– इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थल दुई महिनायता बन्द भएको छ। करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो।
गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन। करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्।
इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो। उद्घाटनपछि केही समय सातामा दुईपटक उडान गर्दै आएकामा बन्द गरिएपछि जिल्लावासीमा पुनः निराशा पलाएको छ।
वर्षौंदेखि निर्माण सुरु भएको विमानस्थल केही समय उडान भएर पुनः बन्द हुँदा यस विमानस्थलको भविष्य नै अन्धकारमा पर्ने हो कि भन्ने चिन्ता छाएको इलामबासीले बताउँदै आएका छन्। स्थानीयवासी बालकुमार पोख्रेलले उडान बन्द भएपछि अब उडान हुन्छ या हुँदैन भन्ने नै अनिश्चित भएको बताए।
यस विमानस्थलमा तारा एयरको विमानले उडान गर्दै आएको थियो। इलाम नगरपालिका र तारा एयरबीच सम्झौता भएर उडान सुरु गरिएको यस विमानस्थलमा सम्झौताको म्याद सकिएपछि उडान बन्द गरिएको हो।
गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको र त्यसपछि सम्झौताको समयसमेत सकिएको थियो। स्थानीयवासीले उडान नियमित गराउनुपर्ने भन्दै विरोध र खबरदारी गर्दै आएका छन्।
यस विषयमा नगरपालिकाले पनि चासो दिएको र पहल गरिरहेको नगरप्रमुख केदार थापाले बताए। उनले यस विषयमा माथिल्लो निकायसँग पहल भइरहेको जनाए।
इलामबाट नियमित उडान हुनसके पूर्वी पहाडी जिल्लासहित भारतको सिक्किम, मिरिक, दार्जिलिडलगायत छेत्रका बासिन्दालाई सहज हुने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।