काठमाडौं– डा बाबुराम भट्टराईको नयाँ दल दर्ता भएको छ। बिहीबार नेपाल समाजवादी पार्टी नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको हो।
भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार निर्वाचन आयोगमा पहिल्यै समावेशी लोकतान्त्रिक पार्टी दर्ता थियो। त्यसलाई अध्यावधिका लागि केही समयअघि निवेदन दिइएको थियो। सोही अनुसार नयाँ दल दर्ता भएको हो।
आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको जानकारी दिएको छ। उक्त दलको चुनाव चिह्न आँखालाई पनि अद्यावधि गरेको पाण्डेले जानकारी दिए।
अध्यक्ष र पदाधिकारीको गठन भने पार्टीको बैठकबाट टुंगो लाग्ने पाण्डेले बताएका छन्। यता निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले निर्वाचनमा आयोगमा दलहरु अध्यावधि गर्ने काम भइरहने र बिहीबार नयाँ दलको अध्यावधि गरेको भए पनि बाबुराम भट्टराईको नाम उल्लेख नभएको नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।