कोलम्बो–श्रीलंकाको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको छ।
पीडादायी आर्थिक संकटबाट आक्रोशित हजारौं प्रदर्शनकारीहरूले उनको सरकारी निवासमा आक्रमण गरेपछि राजपाक्षे यसै महिनाको सुरुमा मालदिभ्स हुँदै सिंगापुर पुगी निर्वासित जीवन बिताइरहेका छन्।
प्रदर्शनकारीले राष्ट्रपतिनिवासमा प्रवेश गरेपछि सेनाको सहयोगमा सैनिक विमानमा माल्दिभ्स हुँदै सिंगापुर पुगी राजीनामा दिएका थिए।
सन् २००९ मा देशको तमिल पृथकवादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्षे राष्ट्रपति थिए भने गोटाबायले श्रीलंकाको रक्षा मन्त्रालय सम्हालेका थिए।
तत्कालीन प्रशासनले युद्धको अन्तिम समयमा करिब ४० हजार तमिल नागरिकको हत्या गरेको आरोप अधिकार समूहहरूले लगाउँदै आएका छन्।
दक्षिण अफ्रिकामा अवस्थित इन्टरनेशनल ‘ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट’ले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लंघन गरेको आरोपमा भूतपूर्व राष्ट्रपतिलाई गिरफ्तार गर्न र आफ्नो विश्वव्यापी अधिकार प्रयोग गर्न सिंगापुरलाई आग्रह गरेको हो।
उक्त संस्थाको ६३ पृष्ठको गुनासोमा हत्या, मृत्युदण्ड, यातना र अमानवीय व्यवहार, बलात्कार र अन्य प्रकारका यौन हिंसा, स्वतन्त्रताबाट वञ्चित हुनु, गम्भीर शारीरिक तथा मानसिक हानी र भोकमरीजस्ता घटना गराएकोमा पूर्वराष्ट्रपति दोषी रहेको जिकिर गरिएको छ।
सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयले सोमबार थप विवरण नदिई सप्ताहन्तमा उक्त समूहबाट गुनासो प्राप्त भएको पुष्टि गरे।
कुनै समय शक्तिशाली मानिएको राजपाक्षे वंशले स्वतन्त्र जाँचका लागि बारम्बार गरिएको अन्तर्राष्ट्रिय आह्वानको प्रतिरोध गर्दै लामो समयदेखि तमिल टाइगर पृथकवादी आन्दोलनलाई दबाउँदा कुनै पनि नागरिकको मृत्यु नभएको दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।