काठमाडौं– चालु आर्थिक वर्षको पहिलो कारोबार दिनदेखि नै 'सकारात्मक लय'मा फर्किएको सेयर बजार दोस्रो हप्ताको दोस्रो कारोबार दिन आज (सोमबार) उच्च अंकले बढेको छ। सोमबार सेयर बजार परिसूचक नेप्से ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुग्यो।
यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ इन्डेक्स पनि ९.०५ अंकले बढेर ४०७.३८ विन्दुमा पुग्यो।
सोमबार कारोबारमा आएका सबै १३ समूहको उपसूचक उकालो लागेको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.९ प्रतिशतले बढ्यो।
सोमबार १ दर्जन कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीले बढेको छ। नारायणी डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्स, सूर्योदय वमी लघुवित्त, ग्रीन डेभलपमेन्ट, युनाइटेड मोदी, मानुसी लघुवित्त, बलेफी हाइड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
यस्तै, समृद्धि फाइनान्स, गोर्खा फाइनान्स, गुहेश्वरी मर्चेन्ट, श्री इन्भेस्टमेन्ट, पोखरा फाइनान्स र सिन्धु विकासको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अरुणकाबेली, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे।
सोमबार सेयर बजारमा कारोबार रकम पनि झण्डै दोब्बरले बढ्यो। आइतबार २ अर्ब ७३ करोडको कारोबार भएको सेयर बजारमा सोमबार भने ४ अर्ब १० करोड रुपैयाँको कारोबार भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।