रत्ननगर- मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआई नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकाको उद्धार गरेको छ।
भारतस्थित केआई नेपालका प्रतिनिधिले चितवन घर भएका करिब १८ वर्षकी किशोरीको उद्धार गरेको केआई नेपाल चितवनकी संयोजक केमिका घिमिरेले जानकारी दिइन्।
भारतको दिल्लीस्थित एक कोठीबाट उद्धार गरिएकी उनलाई भारतस्थित नेपाली दूतावाससँगको समन्वयमा शनिबार चितवन ल्याइने घिमिरेले बताइन्।
यस्तै भारतको मुम्बइस्थित अर्को कोठीबाट तीन बालिकाको समेत उद्धार गरिएको केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिए। उद्धार गरिएका बालिकालाई अहिले मुम्बईको एक गैरसरकारी संस्थामा पुनःस्थापना गरिएको छ। उनीहरुको ठाउँ ठेगाना भने खुल्न सकेको छैन।
सीमा क्षेत्रमा बढी निगरानी गर्दै आएको उक्त संस्थाले गएको एक वर्षमा नेपालका विभिन्न सीमा नाकाबाट झन्डै ६० जनालाई बेचिनबाट रोकेको जनाएको छ।
चितवन जिल्लामा भने संस्थाले पुनःस्थापना केन्द्र नै सञ्चालन गरेको छ। पुनःस्थापनाको क्रममा रहेका चार जनाले औपचारिक शिक्षा लिइरहेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।