काठमाडौं- आर्थिक बर्ष २०७९/०८०को बजेट निर्माणको क्रममा भएको भनिएको अनधिकृत व्यक्तिको संग्लनताका बारेमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद थप गरिएको छ।
समितिको म्याद ७ दिन थप गरिएको हो। बिहीबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद ७ दिन थप गर्न प्रस्ताव गरेका थिए, जसलाई संसद्ले पारित गरेको हो।
बिहीबार बिहान मात्र समितिले समय थप गर्नका लागि सभामुखलाई पत्र लेखेको थियो।
असार २८ गतेबाट काम सुरु गरेको विशेष समितिको समयसीमा बिहीबार सकिने भएसँगै म्याद थप गरिएको हो।
अहिलेसम्म बजेट निर्माण प्रक्रियामा संग्लन कर्मचारीदेखि राजनीतिक नेतृत्वसँग छलफल भएको र यो छलफलका आधारमा निष्कर्ष निकाल्नलाई समितिलाई थप समयको आवश्यक भएकोले सभामुखलाई पत्र लेखिएको थियो। सीसीटीभीको फुटेज रहने हार्ड डिस्क प्रहरीको प्रयोगशालामा लगिएको र त्यसको रिर्पाट आउन केही दिन लाग्ने बताइएको छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप लागेपछि २२ असारमा अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए भने सोही दिन संसदीय विशेष समिति गठन भएको थियो। उक्त समितिले छानबिनका लागि १० दिनको म्याद पाएको थियो।
समितिले बिहीबार बिहान पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग तीन घण्टा लामो बयान लिएको छ। त्यसक्रममा शर्माले अनधिकृत व्यक्तिको प्रवेशलाई अस्वीकार गरेका छन्। समितिले अर्थसचिव, पूर्वअर्थसचिव, शर्माबारे समाचार लेख्ने दुईजना पत्रकार लगायतसँग बयान लिइसकेको छ।
संसदीय विशेष समितिमा सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, बिमला बिक, देव गुरुङ, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला यादव, सीताराम महतो, मानबहादुर विश्वकर्मा, सुरेन्द्र यादव रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।