काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाईबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन्। प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरीय र प्रभावकारी ढंगले जनतासमक्ष पुग्ने गरी काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका हुन्।
कुनै पनि बेला कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको उनले बताए। ग्रामीण भेगबाट सेवा लिन आउने सेवाग्राहीले समेत यो राज्य मेरो पनि हो भन्ने खालको अनुभूति हुनेगरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई मन्त्री कुँवरले आग्रह गरेका हुन्।
अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाईन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको उनको भनाइ छ।
वैदेशिक रोजगारमा ९ लाख रुपैयाँसम्म ठगी भएका गुनासा आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र स्वयं कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनीकरणमा लाग्ने उनले बताए। मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठूलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यसलाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने बताएका छन्।
अहिले सरकारले परिचयपत्र, इ-पासपोर्ट, श्रम स्वीकृति, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधि उपचार सेवा दिनेजस्ता कामहरु अनलाईनबाटै गरिरहेको छ। जसमा सबैभन्दा प्रभावकारी श्रम स्वीकृति देखिएको छ।
छलफलमा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुलर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग लगायत कार्यालयका कर्मचारी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।