काठमाडौं– नेपाल धितोपत्र बोर्डको टोली भारतीय पुँजी बजार नियामकको भ्रमण सकेर स्वदेश फर्किएको छ।
भारतीय नियामक सेक्युरिटिज एन्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी) को निमन्त्रणमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल नेतृत्वको टोलीले असार २७ देखि असार ३१ सम्म अध्ययन भम्रण गरेको थियो।
भ्रमणका क्रममा सेबीका अध्यक्ष माधवी पुरी बुच र बोर्ड अध्यक्ष हमालबीच द्विपक्षीय सहयोग आदान–प्रदानका सम्बन्धमा छलफल भएको बोर्डले जनाएको छ। दुई अध्यक्षबीच आगामी दिनमा दीर्घकालीन सहकार्य स्थापित गरी अगाडि बढ्ने प्रतिबद्धता भएको बोर्डले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
धितोपत्र बोर्डका अनुसार भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेन्ज (बीएई), नेसनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केट्स (एनआइएसएम) र मल्टी कमोडिटि एक्सचेन्ज अफ इण्डिया (एमसीएक्स) का उच्च पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका छन्।
भ्रमणमार्फत् भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकासका साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्नका लागि खेल्नुपर्ने भूमिका र बजारको अनुगमन तथा सुपरीवेक्षण के कसरी गर्नु पर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको बोर्डको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।