फाइल तस्बिर।
धनगढी– सुदूरपश्चिम प्रदेशका तीन जिल्लाको विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुला, बैतडी र बझाङका मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।
मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ भन्ने ठाउँमा मुख्य राजमार्गमा माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ को जालेबगरमा सेती नदीले कटान गरेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दार्चुला र बैतडीका तीन ठाउँमा स्थानीय र प्रहरीले संयुक्त रुपमा पहिरो पछ्याएर सडक खुलाउने प्रयास जारी राखेपनि बझाङको जालेबगरमा भने सेती नदीको बहाव बढेकाले त्यहाँ जान सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।