काठमाडौं– स्पेनमा केही समयदेखि गर्मी बढेको र तातो हावा चलेको छ। तातो हावाबाट त्यहाँका संयौं मानिसको ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ।
मन्त्रालयले त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।
यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण स्पेनको जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र १५० जनाको ज्यान गएको जनाएको छ।
त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्।
यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेको बताइएको छ।
गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।