काठमाडौं– काठमाडौं महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर नियुक्त भएका छन्। महानगरको सूचना प्रविधि समितिका संयोजक समेत रहेका उनी काठमाडौं–१७ का वडाध्यक्ष हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आइतबार बसेको छैटौं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।
साथै, बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ।
यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।
तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका थिए। बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ।
चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ। यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो।
बैठकमा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।