काठमाडौं- पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयमा रहेको सीसी टीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको छ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसी टीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ गरेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।
आइतबार नै अर्थ मन्त्रालयका राजस्व सचिवसँग पनि समितिले सोधपुछ गरेको छ। शनिबार समितिले मूल गेटदेखि सीसी टीभीका गतिविधिहरुमा अध्ययन गरेको थियो।
समितिको छैटौं बैठक बसेको छ। पूर्व अर्थमन्त्रीका विषयमा आवश्यक कागज तथा प्रमाण अर्थ मन्त्रालयसँग माग गरे प्रश्चात अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ र जानकारी लिने काम निरन्तर चलिरहेको समितिले जनाएको छ।
शनिबार पनि भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग समितिले सोधपुछ गरेको थियो।
तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई रातको समयमा अर्थमन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको थियो। पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।