काठमाडौं– भारतीय जनता पार्टीकका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नयाँ दिल्ली पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबाट आफू निकै उत्साहित भएको बताएका छन्।
तीनदिने भ्रमणका लागि भारत पुगेका प्रचण्ड आइतबार बिहान दिल्लीस्थित भाजपा मुख्यालय पुगेका थिए। मुख्यालयमा भाजपा अध्यक्ष नाड्डासँगको भेटपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै प्रचण्डले आफू भारत भ्रमणमा आउँदा उत्साही रहेको बताएका हुन्। ‘भारत आएदेखिनै निकै राम्रो वतावरणमा निकै फलदायी, उपलब्धिमूलक कार्यक्रम भएको छ’ प्रचण्डले भने,‘ म धेरै उत्साहित छु।’
दुनियाँकै ठूलो राजनीतिक दल भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा दिल्ली आएको र भाजपाको मुख्यालयमा आएर पार्टीको व्यवस्थापन लगायतको कुराले पनि आफू उत्साहि रहेको उनले बताए। ‘भाजपा दुनियाँको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थापित छ। त्यस्को अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा यहाँ आएको हुँ’ प्रचण्डले भने,‘आज भाजपाको मुख्यालयमा आएर यो कसरी चलेको छ, व्यवस्थापन कस्तो छ भनेर बुझ्दा म धेरै उत्साहित भएको छु।’
नड्डासँगको भेटमा पार्टीस्तरमा सम्बन्ध विस्तार गर्नेमा समझदारी भएको उनको भनाइ छ।
‘दुई पार्टीको सम्बन्धलाई दुई देशसँगको सम्बन्ध राम्रो बनाउनका लागि बढाउनु पर्छ भन्ने नड्डाजीको प्रस्तावलाई मैले सर्मथन गरेको छु’ उनले भने,‘कहिले भाजपाको निमन्त्रणामा कहिले हाम्रो पार्टीको निमन्त्रणामा नेपाल र भारतमा विभिन्न कार्यक्रम संयुक्तरुपमा गर्ने समझदारी पनि भएको छ।’
आइतबार साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको प्रचण्ड नेतृत्वको टोलीले त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने सम्भावना रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।