काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको छ।
समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताए।
उनले शनिबार नै अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने कार्यतालिका रहेको पनि बताए।
‘सीसीटीभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने। साथै अर्थ मन्त्रालयका राजश्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सीसीटीभीको विषयमा केन्द्रित भएर छलफल गर्ने कार्यक्रम छ’, उनले भने, ‘बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थ मन्त्रालयदेखिको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौँ।’
सचिव अर्यालले शनिबार प्राविधिक विषय सीसीटीभीको बारेमा केन्द्रित भएर छलफल गर्ने र अध्ययनलाई समयसीमा भित्र नै टुंगोमा पु¥याउने गरी अघि बढेको बताए। तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिमध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।
पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।