काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्र महतले नाम नलिई एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि व्यंग्य गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै महतले उनीहरु दुई जना ‘बा र छोरा’ भएको पनि बताए।
एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेका ‘एम अधिकारी’ अहिलेका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका व्यक्त भइरहेका बेलामा माओवादी केन्द्रका सांसदहरूले सदनमा पनि विषय उठाएका थिए। महत त्यसैमा मिसिएका हुन्।
‘मलाई शंका लागिरहेकै थियो। एकजना बार्दलीबाट–यो देशलाई श्रीलंका बनाइदिऊँ? भन्ने थिए। एकजना ढुकुटीमाथि बसेर म पनि–यो देशलाई श्रीलंका बनाइदिऊँ? भन्दै थिए। यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो मलाई। नभन्दै यिनीहरु बा र छोरा रहेछन्’, महतले भने।
उनले यी (ढुकुटीमा बस्ने व्यक्ति) आफूलाई बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्ने गरेको बताए।
‘नभन्दै यी हनुमान पनि रहेछन्। किनभने द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए। अहिले पनि श्रीलंका जलिरहेकै छ। नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ, यी हनुमानले। हिजोआज जलाउन खोजिरहेका छन्। यिनलाई बाँधेर राख्नुपर्यो। सरकारलाई भन्नुपर्यो, यिनलाई बाँधेर राख्नुस्। नत्र यिनले नेपाल जलाउँछन्’, महतले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।