फाइल तस्बिर।
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम-लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन्।
वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुनुपर्ने प्रचण्डले बताएका छन्।
आइतबार बकर इदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिँदै उनले 'जनयुद्ध' र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम-लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन्।
‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोहोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी छ,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।
साथै, उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन्।
समाजका यिनै परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेको भन्दै प्रचण्डले यस प्रकारका चाडपर्वहरूको सम्वर्धन र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।