काठमाडौं- काठमाडौं-दिल्ली बस सेवा तस्करीका सामान ल्याउन प्रयोग हुने गरेको समाचार नेपाल लाइभमा प्रकाशित भएपछि महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
तस्कर समूहले यातायात सेवा सञ्चालनमा आएयता महँगा मोबाइल र लत्ताकपडा भारतबाट ल्याउने तथा नेपालबाट अन्य सामग्री लैजाने गरिरहेको समाचार नेपाल लाइभमा असोज ३ गते प्रकाशित भएको थियो। सोही समाचारलाई आधार मान्दै कार्यालयले प्रहरी उपरीक्षक राजेन्द्र चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटी, नायब निरीक्षक डम्बर श्रेष्ठ, सहायक निरीक्षक रविन्द्र यादव र प्रहरी जवान उत्तरकुमार श्रेष्ठ रहेका छन्।
सत्यतथ्य बुझेर तीन दिनभित्र प्रतिवदेन बुझाउन आयुक्त एआइजी जयबहादुर चन्दले समितिलाई निर्देशन दिएका छन्। समितिले आइतबार प्रतिवेदन बुझाउँदैछ।
दिल्लीबाट काठमाडौं आएको बसमा केही साताअघि पनि लाखौं रुपैयाँ बराबरको भन्सार छली गरेका लत्ताकपडा बरामद भएको थियो। नागढुंगाका इन्स्पेक्टरले छुटाउन खोजेको सामान सईले रोकिदिएको सूचना पाएपछि समाचार सार्वजनिक भएको थियो।
यस्तो थियो समाचार- दिल्ली–काठमाडौं बसमा तस्करीका सामान, नागढुंगाका इन्स्पेक्टरले छुटाउन खोजेको सामान सईले रोकिदिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।