काठमाडौं- हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने पक्का भएको छ। दुबै संस्थाबीच औपचारिक सहमति शुक्रबार हुने बैंक स्रोतले जानकारी दिएको छ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयन बैंक अर्को संस्था गाभ्नै पर्ने दबाबमा थियो। यसैगरी, नेपाल राष्ट्र बैंकले पनि असारभित्र मर्जरमा नगए यसअघि दिइएको सुविधा फिर्ता गर्ने मौखिक निर्देशन दिएको थियो। सोही अनुसार हिमालयन बैंकले मर्जरका लागि सिभिल बैंकलाई रोजेको हो।
यी दुई बैंक मर्जर तथा प्राप्तिमा गएपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ बराबर हुने देखिएको छ। चालू आवको तेस्रो त्रैमाससम्म आउँदा हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २८ हजार रुपैयाँ रहेको छ भने, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ।
चालू आवको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ५४ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ। यसैगरी सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड ३ लाख ५८ हजार रुपैयाँ रहेको छ। मर्जर तथा प्राप्तिमा गएमा बैंकको जगेडा कोषको आकार ९ अर्ब रुपैयाँ बराबरको बन्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।