काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत मान्छे प्रवेश गराएको र करको दायरा हेरफेर गराएको आरोपमा छानबिन गर्न ११ सदस्य संसदीय छानबिन विशेष समिति गठन भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले समितिमा रहने सांसद्को नाम पढेर सुनाएका छन्। उक्त समितिमा एमालेका चार जना, कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ जना रहेका रहेका छन्।
उक्त समितिमा खगराज अधिकारी, प्रदीप ज्ञावाली, बिमला बिक, देवप्रसाद गुरुङ, सरला यादव, सिताराम मेहता, सुरेन्द्र यादव, पुस्पा भुसाल, शक्ति बस्नेत, भानुभक्त ढकाल र लक्ष्मणलाल कर्ण रहेका छन्।
उक्त समितिले १० दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ। बुधबार बिहान ११ बजे बोलाइएको संसद्को बैठक सुरु हुनुअघि नै एमालेले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो।
साथै अर्थमन्त्री शर्माको राजीनामा वा बर्खास्तीको माग गर्दै संसद् बहिस्कार गर्ने बताएपछि सत्तारुढ गठबन्धन समिति निर्माणका लागि सहमत भएको थियो। उक्त छलफलमा सभामुख, मन्त्रीहरू र प्रमुख पार्टीका सचेतक सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।