काठमाडौं– सत्तासाझेदार नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
अर्थमन्त्रीबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग माओवादीले छलफल गर्ने भएको हो।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बुधबार बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हो।
पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले अर्थमन्त्रीका बारेमा प्रमुख उठिरहेको छानबिन समितिका बारेमा नेकपा एमालेसँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए।
‘बैठकमा प्रतिपक्षी दलसहित अन्य क्षेत्रबाट अर्थमन्त्रीका बारेमा उठेको विषयमा छलफल भएको छ,’ उनले भने, ‘त्यसबारे एमालेसँग छलफल गर्ने भन्ने निर्णय भएको छ।’
संसद्मा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ। सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ।
अर्का एक स्थायी कमिटी सदस्यका अनुसार बुधबारको बैठकमा अर्थमन्त्रीलाई आफ्ना कुरा राख्न दिन एमालेलाई आग्रह गर्ने र त्यसपछि छानबिन समिति गठन गर्न आफूहरु तयार रहने भन्ने विषयमा निष्कर्ष निकालिएको छ।
नेकपा एमालेले संसद्मा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।