काठमाडौं– नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ। मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो।
माओवादी नेता गणेश शाहका अनुसार पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ।
उनले भने, ‘सर्ब जिम्मेवारी अध्यक्षलाई दिइएको छ। उहाँले केन्द्रीय समितिको बैठकमा नाम घोषणा गर्नुहुन्छ।’
उक्त नाममा कसैको विमति भए विमतिका रुपमा दर्ज हुने उनले बताए। त्यस्तो अवस्थामा बहुमतले पारित गरेर अघि बढ्ने बैठकमा सहमति भएको शाहले जानकारी दिए।
दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबारका लागि स्थगित गरिएको थियो। मंगलबार उक्त सहमति जुटाएर बुधबार केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।