काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबीद गरेका छन्।
मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले गठबन्धनरुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए। आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उनको भनाइ छ। जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उनले बताए।
उनले भने, ‘स्थानीय निर्वाचनमा हामी पाँच दलले एउटै जहाज चढ्यौं, जहाज उडिसकेको छ। तर, ल्यान्डिङ भएको छैन, अब त्यो जहाजलाई हामीले सेफ ल्यान्डिङ कसरी गर्ने? भनेर चिन्तन र चिन्ता गरिरहेका बेला त्यहि जहाजभित्र बसेका साथीहरुले ङ्यारङ्यार ङुरङुर गर्न हुन्न। जहाजलाई सेफ ल्याण्डिङ गर्नेपर्ने हाम्रो दायित्व छ। या त हामीले जहाजबाट प्यारासुट जम्प गर्नुपर्छ। तर खुट्टा भाँचिन्छ कि भन्ने पनि हामीलाई त्रास छ। जम्प पनि गर्नुभएको छैन, धेरै माथि उडेको छ। १० हजार, साढे १० हजा फिटमाथि उडिरहेको छ।’
उनले संविधान रक्षाका लागि गठबन्धन सरकार बनेकाले बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोप, प्रत्यारोप गर्नु नहुने बताए। गठबन्धनमा आबद्ध दलहरुले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान जोगाउन मुस्किल हुने उनको भनाइ छ।
उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दाबी गरे।
उनले सधैं देश गरिब बनाउने काम गर्न नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।