काठमाडौं-बुधबार आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेभित्र बिउ रोपेको बताए। उनले समाजवादी क्रान्तिका लागि पूर्वमाओवादी मात्रै मिलेर नहुने भन्दै सुरु गरेको प्रसंग एमालेमा बिउ रोपेको प्रसंगसम्म लम्बिएको थियो।
'मैले तीन वर्षको अनुभव जे गरेँ। त्यो अनुभव भनेको एमालेभित्रका पनि हजारौँ नेता-कार्यकर्ताहरुलाई एकीकृत र केन्द्रिकृत गरेर लैजान सकिँदोरहेछ भन्ने अनुभव हो', प्रचण्डको भनाइ छ, 'तपाईंहरुलाई सकिएन, बिग्रियो भन्ने लाग्न सक्छ। तर, त्यहाँ बिउ रोपिएको छ। हामीले बिउ रोपेर आएका छौँ। हेर्नुहोला, केही समयपछि त्यो फूल्छ, फल्छ।'
प्रचण्डको सम्बोधनको मुख्य विषय वामपन्थी एकतासँग सम्बन्धित थियो। त्यसैले एमालेमा पनि एकताका पक्षधर शक्ति भएको तर केपी ओलीको नेतृत्वका कारण सम्भव नरहेको भन्ने आशय व्यक्त गरेको बुझ्न सकिन्छ। उनले भनेकै छन्, एमालेमा ओली प्रवृत्ति नहुने हो भने अरु हजारौँ कार्यकर्तालाई आरामसँग समाजवादको यात्रामा डोहोर्याउन सकिन्छ भन्ने विश्वास छ।
पछिल्लो समय चर्चामा रहेको वाम गठबन्धन/एकताकै एक पाटोलाई प्रचण्डले अघि बढाएका हुन्। तर, उनले आफ्नो सम्बोधनमा नेकपा कालमा आफ्नो भूमिकाको समीक्षा गरेका छैनन्। बीउ रोप्ने मात्रै कुरा गरेका उनले खेतका आली भत्किएका, पानीका मुहान सुक्दै गएको र गोडमेल गर्नेहरुको अभाव रहेको यथार्थ भुलेका छन्। बिउ हुर्काउने र बाली फलाउने भन्दा पनि जे जति उत्पादन भएका छन्, सोहोर्नेमात्रै प्रवृत्ति नेकपा कालमा मौलाएको प्रष्टै छ।
अर्कोतिर, नेकपा गठन हुनुअघि नै माओवादी सांगठनिक रुपमा साह्रै कमजोर भएको थियो। पार्टीको घट्दो आकारका कारण प्रचण्ड एमालेसँग एकताका लागि अघि बढेको उनीहरुले नै स्वीकार गरिसकेको विषय हो। एकता त भयो, तर तीन वर्षमै त्यो भंग भयो। यसरी भंग हुनुमा प्रचण्डलाई नै दोषी देख्ने एमाले पंक्ति बलियो छ। अनि यस्तो यथास्थितिमा प्रचण्डले बिउ रोपेका छौँ भनेर आत्मरति लिनुको अर्थ के होला?
एमालेका केन्द्रीय सदस्य बिष्णु रिजाल प्रचण्डले आफ्ना नेता-कार्यकर्ताबाट पार लाग्दैन भनेर एमाले नेता–कार्यकर्तामाथि आँखा लगाएको बताउँछन्। 'हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो। तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ?', सामाजिक सञ्जालबाट उनले प्रश्न सोधेका छन्।
एमालेमा प्रचण्डले लक्षित गरेको बिउ १० बुँदे सहमतिपछि एमालेमा रहन तयार भएका नेताहरुको समूह हो। नेकपाभित्रको विवादको समयमा एक पक्षको नेतृत्व गरेका प्रचण्ड र माधवकुमार नेपाललाई ती नेताहरुले साथ दिएका थिए। नेकपा विभाजनपछि त माओवादी केन्द्रका मुख्य नेताहरु उतै लागे। एमाले विभाजनका बेलामा भने उनीहरु नेपालतिर लागेनन्, एमालेमै रहे। ती नेताहरुले आफूलाई पनि दुःख दिने ओलीको आंकलन थियो। त्यसैले उनीहरुप्रति लक्षित गर्दै ओलीले 'पिलो निचोरिए पनि खिल बाँकी रहेको' भनेका थिए। त्यही 'खिल'ले नै बिउको काम गर्ने प्रचण्डको अपेक्षा हुनसक्छ।
विभाजनमा नलागेका नेतालाई लक्षित गर्दै ओलीले भने- पिलो निचोरियो भनेको खिल बाँकी नै रहने भयो
तर, प्रचण्डले चर्चा गरेका बिउ अब नउम्रिने एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको टिप्पणी छ। 'माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सीपीको बिउ, कमरेड फलानाको बिउ, अब यी बिउहरु उम्रन्नन्। यी नउम्रने बिउहरु हुन्', भूसालले बिहीबारै एउटा कार्यक्रमबाट प्रचण्डलाई सम्झाएका थिए।
स्थानीय तहको निर्वाचनअघि देखि नै मुखर रुपमा वाम गठबन्धन वा एकताको पक्षमा उभिएका भूसालले पुरानो बिउ छाडेर हाइब्रिड बनाउनुपर्ने बताएका छन्। उनको भनाइको सार स्पष्ट छ- नयाँ सूत्रमा, नयाँ विश्वासमा, नयाँ प्रतिबद्धतामा मात्रै वाम गठबन्धन/एकता हुनसक्छ।
'नेकपा एउटा हाइब्रिड थियो। विभिन्न सिड (बिउ)हरुबाट संकलन गरेर हाइब्रिड बनाएका थियौँ। हाम्रो बुद्धि पुगेन र बिउको भकारीमै आगो लगायौँ। बिउहरु सुरक्षित छन्। यी बिउहरुलाई फेरि हाइब्रिड बनाउनुपर्छ। जहाँ त्यहाँ नेकपा माओवादी, नेकपा एमाले, समाजवादी वा अर्का कुनै पनि चिज रहने छैन। नेकपा रहनेछ। कम्युनिस्ट रहनेछ। कम्युनिस्ट पार्टी रहनेछ। एकीकृत कम्युनिस्ट पार्टी रहनेछ', भूसालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।