काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै पिलो निचोरियो भन्ठानेको खिल बाँकी नै रहने भयो भन्दै टिप्पणी गरेका छन्। बिहीबार बिहान आफूनिकट नेताहरुसँगको भेटमा ओलीले नेपालपक्षका सबै सर्लक्क नजाँदा बाँकी रहनेले खिलको रुपमा दु:ख दिने बताएका हुन्।
‘पार्टीमा चाहिने नचाहिने काम गर्ने, आफ्नै पार्टीको सरकारविरुद्ध लागेर विपक्षलाई सघाउने काम गरे। उनीहरु (नेपालपक्ष) सबै जान्छन् भन्ठानेको केही रहने भए’ ओलीको भनाइ उदृत् गर्दै ओलीपक्षका एक नेताले भने, ‘सबै पिलो निचोरियो भन्ठानेको अझै खिल बाँकी रहने भयो। कति दु:ख दिने हुन्। बाँकी रहेका (घनश्याम भुसाल, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली)पनि उतै गए हुन्थ्यो।’
नेपालपक्षले छुट्टै पार्टी गठन गरेका विषयमा समेत ओलीले खुसी व्यक्त गरेको ती नेताले दाबी गरे। ओलीको चर्को विरोध गर्ने नेताहरुले नेपालले नयाँ पार्टी खोलेपछि साथ दिएका छैनन्। नेपालपक्षका स्थायी कमिटीमा नेपालसहित १३ जना भए पनि ९ जनाले विभाजनमा नलाग्ने घोषणा गरेका छन्।
जसमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रघुजी पन्त, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, अमृत बोहोरालगायत छन्। यस्तै, केन्द्रीय कमिटीमा नेपालपक्षका ८५ जना भन्दा धेरै भएपनि अन्तिममा ५८ जनाले मात्रै उनलाई साथ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।