काठमाडौं–मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। कलेजले आफ्नो २१ औँ वार्षिकोत्सवका अवसरमा तिलगंगा आँखा विज्ञान प्रतिष्ठान र समाज डेन्टल अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शनिबार आयोजित शिविरमा २८४ जना दाँतका बिरामी र ४४७ आँखाका बिरामीले लाभ लिएका छन् । यस्तै, १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएको कलेजका समाज कल्याण उपसमितिका संयोजक तथा शिक्षक अरुण शर्माले जानकारी दिए। अस्पतालले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने जनाइएको छ।
शिविरमा काठमाडौं महानगर वडा नम्बर १० र २९ का स्थानीयले लाभ लिएका छन्। शिक्षक शर्माले भने, ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमूल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालय तथा अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन्।’ कलेजकै विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत दात र आँखा परीक्षण गराएका थिए।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर शुक्रबार रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको थियो। उक्त कार्यक्रमबाट ९९ पिन्ट रगत संकलन भएको शर्माले बताए। असार १४ गते हुने वार्षिकोत्सव अवसरमा आइतबार कलेज परिसर र वरपरका क्षेत्रमा सरसफाइ गरिने कलेजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।