मुम्बई– करिब २ दशकअघि उनी घुम्न भनेर मायानगरी मुम्बई आएका थिए। तर, अहिले मुम्बैया भइसकेका छन्।
३३ वर्षीय अरुण पौडेललाई सानैदेखि गाउने र बजाउनेमा निकै रुचि थियो। उनको बच्चाको सपनै थियो, ठूलो भएर संगीतकार बन्ने। तर, उनी संगीतकार त बन्न सकेनन्, क्यामेराम्यानको रुपमा मुम्बईमा ख्याति कमाइरहेका छन्।
एसएलसी परीक्षा दिएपछि अरुण आफ्ना गाउँले दाजु नारायण पौडेलसँगै मुम्बई गएका थिए। प्युठानका रैथाने भए पनि उनको परिवार चितवनमा बसाइँ सरेको थियो। उनी पनि चितवनको जगतपुरमा जन्मेर हुर्किएका थिए। उनको स्वभाव सानैदेखि चञ्चले थियो। तर, कुनै कामको पछाडि लागे भने त्यो फत्ते नगरी नछोड्ने।
उनलाई एसएलसी दिएपछि संगीतकार बन्ने धुनले कुतकुत्याएछ। यसैले केही नसोची मुम्बई आएका थिए। सानोमा स्कुलको कार्यक्रममा गाउने र बजाउने गरेका अरुणलाई मुम्बई आउँदासम्म ठूलो भ्रम रहेछ, आफूलाई संगीतको राम्रै ज्ञान छ भन्ने। तर, यहाँ आइसकेपछि उनले आफ्नो असलियत बुझे। कसैले नपाएको दुःख पाए।
‘मुम्बई सोचे जस्तो कहाँ छ र। यहाँ काम नगरी खान पाइँदैन,’ उनी पुरानो कुरा सम्झन्छन्, ‘कहिले त दिनको १८ घन्टासम्म काम गर्नुपर्छ।
उनलाई बलिउडका चर्चित म्युजिक निर्देशक प्रितम सिंहले सहयोग नगरेको भए, सम्भवत उनी धेरै वर्षअगाडि घर फर्किसकेका हुन्थे। सन् २००४ मा उनी म्युजिक सिक्न प्रितमको स्टुडियोमा जान्थे। प्रितमसितको यही भेट उनलाई मुम्बईमा टिक्न सहज बन्यो। उनी हरेक दिन प्रितमको स्टुडियोमा गितार समाएर बस्थे। गाउँबाट आएको हुनाले प्रितमले उनलाई कम्प्युटर र अंग्रेजी भाषा सिक्न प्रेरित गर्थे।
‘गाउँबाट गएको हुनाले उहाँले मलाई माया गर्नुहुन्थ्यो। यही मैले संगीतकार बन्न के कति ज्ञान चाहिन्छ भन्ने बुझेँ। मेरो संगीत करिअर अगाडि बढ्दैन भन्ने बुझ्न पाएँ,' उनले भने, ‘तर, विविध विषयको ज्ञान बढाएपछि मेरो आत्मविश्वास चुलियो।’
प्रितमसित भेट हुनुअघि उनले कल्पना लाज्मीको फिल्म ‘चिङ्गारी’ मा काम गर्ने अवसर पाएका थिए। उनलाई थाहा थियो, मुम्बईमा टिक्न निकै गाह्रो छ।
यसै क्रममा उनी क्यामेरातर्फ मोडिए। केही समयको औपचारिक ज्ञानपछि उनले २००७ मा ‘मौसम’ भन्ने फिल्ममा क्यामेरा सहायकको काम पाए। यही क्रममा उनको भेट भयो, बलिउडका चर्चित सिनेम्याटोग्राफर विनोद प्रधानसँग।
आफूभन्दा निकै सिनियर प्रधानको काम गर्ने शैली देखेर उनी दंगै परे। यसपछि उनले आफ्नो करिअर यही पेसालाई बनाउने ठाने। ‘म विनोद सरको कामबाट यति प्रभावित भएँ कि कमाइको पैसा बोकेर हैदराबाद लागेँ,’ उनी भन्छन्, ‘२०१० मा हैदराबादको इन्स्टिच्युटमा क्यामेरासम्बन्धी तालिम लिएपछि मात्र मेरो काममा निखार आयो।’
क्यामेरासम्बन्धी विशेष तालिम लिएपछि उनलाई कमल हसनको निकै विवादित फिल्म ‘विश्वरुप’ मा काम गर्ने प्रस्ताव आयो। यसपछि उनले काम खोजेर हिँड्नुपरेको छैन। उनले अहिलेसम्म हिन्दीबाहेक पनि बंगाली, पञ्जाबी र मराठी फिल्ममा क्यामेराम्यानको भूमिका निर्वाह गरिसकेका छन्।
उनी मौसम फिल्ममा विनोद प्रधानसँग गरेको ४ दिनको कामले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताउँछन्। त्यसैले उनको उद्देश्य नै छ, आफू पनि प्रधानजस्तै कुनै दिन बलिउडको नम्बर एक क्यामेराम्यान बन्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।