काठमाडौं– पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकाससम्बन्धी व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्ड बिजनेश लोन’ जारी गरेको छ।
फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तीय आवश्कता पूरा गर्न आकर्षक सुविधा तथा ब्याजदर सहित नयां कर्जा योजना ल्याइएको बैंकले जानकारी दिएको छ। यस कर्जा योजनाअन्तर्गत बैंकले साबिकको भन्दा ०.५ प्रतिशत कममा कर्जा उपलब्ध गराउनेछ।
बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरी व्यवसायीहरू माझ वित्तीय पहुँचमा जोड दिइने समेत जनाएको छ। साथै, आफ्ना ग्राहक वर्गसम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले ‘नबिल एसएमई योजना’ मा आबद्ध गराउनेछ।
‘नबिल पर्यावरण मैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोर मैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,’ बैंकका एसएमई एण्ड एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।