काठमाडौं– मधेश प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएको छ। बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको बजेटमा चालू आर्थिक वर्षको भन्दा १३ अर्बले बढेको छ।
चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बराबरको बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १३ अर्बले बढाउँदै ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको हो।
मन्त्री साहले पेस गरेको बजेटमा चालू आवको भन्दा आगामी आवमा १३ अर्ब ८ करोड ८५ लाख १६ हजार रुपैयाँले बढेको छ। यस्तै बजेटमा यस आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ ६ खर्ब १४ करोड ३४ लाख ४८ हजार रुपैयाँ बढी बजेट विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ चालूतर्फ छुट्याएको थियो।
आगामी आर्थिक वर्षका लागि भने चालूतर्फ कूल २१ अर्ब ७६ करोड ६८ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री साहले जानकारी दिए।
त्यस्तै, पुँजीगत खर्चको तर्फमा पनि चालू आर्थिक वर्षको तुलनामा ७ अर्ब ७६ करोड ३९ लाख ९७ हजार बढी बजेट प्रस्तुत भएको छ। चालू आर्थिक वर्षमा १८ अर्ब ५ करोड ८० लाख ८३ हजारको बजेट बिनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ८२ करोड २० लाख ८० हजार बजेट ५३.२१ प्रतिशत विनियोजन भएको छ।
त्यस्तै, वित्तिय व्यवस्थातर्फ पनि चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका ६ करोड २४ लाख धेरै बजेट प्रस्तुत भएको छ। चालू आर्थिक वर्षमा १० करोडको बजेट विनियोजन भएकोमा आगामी आथिएक वर्षका लागि विनियोजित बजेट १६ करोड २४ लाख ५६ हजार २ सय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।