काठमाडौं– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट पेस गरेका हुन्। अर्थमन्त्री बरालका अनुसार चालूतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ।
बजेट चालू आर्थिक वर्षकोभन्दा करिब ६ अर्ब रुपैयाँ बढी रहेको छ। चालू आवको लागि सरकारले ३० अर्बको बजेट ल्याएको थियो। आन्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो।
वर्तमान प्रदेश सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो। बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।