काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले वर्षायामसम्म सुरुङको सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाबाट पानीको आपूर्ति बन्द गरिएको बताएका छन्। अर्बौंको लगानीमा निर्माण गरिएको आयोजनाको सुरुङमा वर्षामा आउने बाढीले क्षति पुग्ने भएकाले वर्षायामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको मन्त्री चौधरीको भनाइ छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन्। जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरुको सुझाव र सो स्थानमा जडित अर्लि वार्निङ सिस्टम, विज्ञहरुबाट प्राप्त सूचना र सुझावको आधारमा सो आयोजनाको पानी काठमाडौं ल्याउन वर्षायामसम्मका लागि बन्द गरिएको मन्त्री चौधरीको भनाइ छ।
मन्त्री चौधरीले वर्षायाम सकिने वित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने बताए। यस अवधिमा काठमाडौंबासीलाई पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तर गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भईरहेको उनको भनाइ थियो।
मन्त्री चौधरीले काठमाडौं उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको समेत बताए।
मन्त्री चौधरीले काठमाडौं उपत्यकाको चक्रपथ भित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्याउनका लागि पाइपलाइन सञ्चाल विस्तारको काम भइरहेको पनि बताए। उनले स्वच्छ खानेपानीको उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोही अनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।