काठमाडौं- फिल्म ‘डमरूको डण्डीबियो’ निर्माण हुने भएको छ। राजधानीमा एक कार्यक्रम गर्दै समृद्धि इन्टरटेनमेन्टले उक्त फिल्म बनाउने घोषणा गरेको हो। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, अनुप बराल र बुद्धि तामाङको मुख्य भूमिका रहनेछ।
फिल्मबाट स्क्रिप्ट राइटर छेतेन गुरूङ निर्देशकका रुपमा डेब्यु गर्नेछन्। फिल्ममा गुरूङले अभिनेता लामिछानेसँग लेखनमा समेत सहकार्य गरेका छन्।
‘अहिले त सरकारले भलिवललाई राष्ट्रिय खेल घोषणा गरिसकेको छ। तर, पहिलेको राष्ट्रिय खेल ‘डण्डीबियो’ लोप हुँदै गइरहेको अवस्थामा ‘डमरुको डण्डीबियो’ले यो खेलको महत्व र विशेषतालाई नेपालीमाझ स्मरण गराउँदै मनोरञ्जन दिने विश्वास लिएका छौ,’ फिल्मबारेमा बोल्दै अभिनेता लामिछानेले भने।
अनुमानित १ करोड ५० लाखमा निर्माण हुन लागेको यस चलचित्र नेपालको पहिलो राष्ट्रिय खेल डण्डीबियो सम्बन्धी कथावस्तुमा आधारित हुने निर्माण पक्षले जनाएको छ। सुमी श्रेष्ठ घले र विनोद गुरुङको संयुत्त लगानीमा निर्माण हुन लागेको चलचित्रको छायांकन यही आइतबार अर्थात् असोज २२ बाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।