जुम्ला– प्रहरी अतिरिक्त महानिरीक्षक तथा प्रदेश नम्बर ६ का प्रहरी प्रमुख रणबहादुर चन्द कर्णालीका जिल्लामा सुरक्षा अवस्था र अपराधको अवस्था बुझ्न दुई दिनदेखि जुम्लामा छन्। उनले जिल्ला प्रहरी कार्यालय र सरोकारवालासँग अपराधको अवस्था र कारण बुझ्न आएको बताएका छन्।
कर्णालीमा हुने अपराधिक क्रियाकलाप र नियमित भइरहेका आपराधिक घटनाबारे बुझ्ने र सोही अनुसार आगामी दिनमा सुरक्षा व्यवस्था मिलाउने उनले बताए।
एआइजी चन्दले भने, ‘यो प्रदेशमा मान्छे मर्नेसँग सम्बन्धित घटना बढी छन्, यसको कारण पत्ता लगाएर कार्ययोजना बनाएर अघि बढ्छु।’ उनले मदिराजन्य पदार्थ अन्तर्गत घरेलु रक्सी सेवनका कारण घरेलु हिंसा बढेको जानकारी पाएकाले त्यसलाई निरुत्साहित पार्ने गरी कार्यक्रम अघि बढाउने बताए।
आपराधिक घटनाको प्रकृति अनुसार हरेक प्रहरीको हातमा लेसन प्लान बनाएर पीडितलाई न्याय दिलाउने र दोषीलाई कारबाहीको दायरामा ल्याउने उनले दाबी गरेका छन्।
यसैगरी, कर्णालीमा कच्ची सडक, बाढी–पहिरो, मानवीय त्रुटि र निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सडक दुर्घटना दिनप्रतिदिन बढिरहेकाले दुर्घटना न्यूनीकरणतर्फ पनि योजना बनाएर काम थाल्ने एआइजी चन्दले जानकारी दिए।
कर्णालीका बासिन्दालाई सुरक्षा शिक्षा र ट्राफिक नियमबारे सचेतना जगाउनेगरी कार्यक्रम तय गर्ने उनले बताएका छन्।
अपराधका कारण बुझ्न जुम्ला पुगेका एआइजी चन्द मुगु, कालीकोट हुँदै सुर्खेत पुग्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।