काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगी, व्यवसायीसँग भेटेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक बर्ष ०७९/८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए।
त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए।
‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन,’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन। सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ।’
आम महिला वर्गलाई राहत हुनेगरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाइए समाधान निकाल्न तयार रहेको पनि उनले बताए।
कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले जानकारी दिए। बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारेका छन् ।
छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नविन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिएका थिए। उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।