काठमाडौं– शोधनान्तर घाटा एक महिनाको अवधिमा २० अर्ब रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांक अनुसार एक महिनामै शोधनान्तर घाटा २० अर्ब बढेर २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ पुगेको हो।
राष्ट्र बैंकले आयात निरुत्साहित गर्न अनेक उपाय लगाउँदा पनि शोधनान्तर घाटा निरन्तर उकालोतिर लागेको हो। गत महिना अघिल्लो महिनाको तुलनामा १० अर्ब मात्रै शोधनान्तर घाटा बढेको थियो। तर, बैशाखमा २० अर्ब रुपैयाँ शोधनान्तर बढेको देखिएको छ।
त्यसैगरी, समीक्षा अवधिमा चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोडले घाटामा रहेको छ। गत महिना ५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १४ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ५७ करोडले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु।१३ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।