काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहँदा दैनि १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको बताइएको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले युद्धको अग्रमोर्चामा दैनिक एक सयदेखि दुई सयको बीचमा सैनिकहरुले ज्यान गुमाइरहेका छन्।
युक्रेनको पूर्वी डोन्बास क्षेत्रमा रुसी सैनिकको सामना गर्नका निम्ति सयौँ पश्चिमा युद्ध प्रणाली युक्रेनलाई आवश्यक रहेको मिखाइलो पोदोलियाकले बताएको बीबीसीले उल्लेख गरेको छ। डोन्बासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी सैनिकहरुको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको छ।
बिहीवार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका थिए।
रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए। युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच 'प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु' भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्याए।
पोदोलियाकले मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको उल्लेख गरे। गत फेब्रुवरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः सुरु हुन सक्ने युक्रेनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।