काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका लागि सिफारिस भएका नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताएका छन्। आफूहरु शपथका लागि तयारी अवस्थामा रहेको उनले बताए।
नेपाल लाइभसँगको कुराकानीमा उनले भने–‘पार्टीले गरेको निर्णय हो। त्यो कार्यान्वयन हुन्छ। आज हुन्छ की भोलि हुन्छ, तर कार्यान्वयन हुन्छ।’
उनले आफूहरु शपथका लागि तयारी अवस्थामा नै रहेको भन्दै मन्त्री नफेर्ने भन्ने कुनै जानकारी नआएको बताए।
आइतबार बसेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ पठाउने निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयन भएको छैन।
समाजवादीले मन्त्रीमा सिफारिस भएकाहरुको नामावली बालुवाटारमा बुझाइसके पनि शपथको विषयमा कुनै निर्णय भएको छैन।
स्रोतका अनुसार सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि मन्त्री हेरफेर गर्ने सहमति भएको छ। जसपाले पनि मन्त्री हेरफेर गर्न चाहेकाले प्रधानमन्त्रीले एकैपटक गर्ने भन्ने प्रस्ताव राखेपछि त्यसमा नेताहरुले सहमति जनाएको एक नेताले जानकारी दिए।
एकीकृत समाजवादीको आइतबारको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो। केसी राज्यमन्त्रीका लागि सफारिस भएका हुन्।
यस्तै, हाल सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाइएका छन्।
हाल स्वास्थ्य राज्यमन्त्री भएका खापुङलाई बढुवा गरेर स्वास्थ्यमन्त्री, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।