काठमाडौं- सत्ता गठबन्धनले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत सहभागी बैठकले कम्तिमा बजेट पास हुनुअघिसम्म मन्त्रिमण्डल यथावत् राख्ने सहमति जुटाएको हो।
सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले एउटा पार्टीले मन्त्री परिवर्तन गर्दा अन्य पार्टीमा समेत प्रेसर पर्ने भन्दै एकीकृत समाजवादीले फिर्ता बोलाएका मन्त्रीहरुलाई नै निरन्तरता दिने निर्णय गरिएको स्रोतको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
प्रधानमन्त्री देउवाले संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुनेक्रम बाँकी नै रहेककाले बीचमै हटाउँदा राम्रो सन्देश नजाने बताएका थिए।
एकीकृत समाजवादीले २४ घन्टाभित्र फिर्ता बोलाउने निर्णय गरेका ४ मन्त्रीहरुलाई केही समयका लागि निरन्तर दिइएको बुझिएको छ। बजेटमाथिको छलफल सकिएपछि सत्ता गठबन्धमै छलफल गरेर हेरफेरको निर्णय लिने सहमति शीर्ष नेताहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।