सिरहा– औषधि लिन साइकलमा गएका एक पुरुषको शव इनारभित्र फेला परेको छ। सिरहाको गोलबजार नगरपालिका–२ टर्कियाका ४८ वर्षीय विष्णुदेव साहको शव बिहीबार बिहान इनाभित्र फेला परेको हो।
श्रीमतीलाई औषधि लिन उनी बुधबार बेलुका साइकलमा गएका थिए। औषधि लिएर तत्कालै फर्किहाल्छु भन्दै गएका उनी बुधबार राति अबेरसम्म पनि नफर्किएपछि परिवारका सदस्यले खोजतलाश सुरु गरेका थिए। तर, राति सबैतिर खोज्दा पनि साहको पत्तो लागेन।
खोजतलाशकै क्रममा बिहीबार बिहान इनारभित्र उनको शव फेला परेको हो। सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्। यता मृतकका परिवारले भने कसैले हतया गरेर इनारमा फालिएको दावी गर्दै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।